१३ वर्षदेखि कोमामा रहेका बिरामीलाई इच्छा मृत्युको अनुमति



काठमाडौँ, फागुन २८ – भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका एक बिरामीलाई इच्छा मृत्युका लागि अनुमति दिएको छ।

सन् २०१३ मा रक्षा बन्धनका दिन घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएका हरिश राणा त्यसयता कोमामै रहेका थिए। उनका बाबुआमाको निवेदनका आधारमा सर्वोच्च अदालतले इच्छा मृत्युको अनुमति दिएको हो।

भारतीय संविधानले सामान्यतया इच्छा मृत्यु अनुमति नदिने भए पनि अदालतले बिरामीलाई बचाउने कुनै सम्भावना नरहेको निष्कर्ष निकाल्दै चिकित्सकहरूको सिफारिसका आधारमा यस्तो निर्णय गरेको बताइएको छ।

घरको चौथो तलाबाट खस्दा टाउको र ढाडमा गम्भीर चोट लागेका हरिश त्यसपछि कहिल्यै होसमा नआएको उनका बाबु अशोक र आमा निर्मला राणाले बताएका छन्। उपचारका क्रममा घरसमेत बेच्नुपरेको र अब खर्च जुटाउन नसक्ने अवस्थामा पुगेपछि आफूहरूले अदालतमा निवेदन दिएको उनीहरूको भनाइ छ।

सर्वोच्च अदालतले इच्छा मृत्युको प्रक्रिया सहज बनाउन सम्बन्धित चिकित्सकीय टोलीलाई आवश्यक व्यवस्था गर्न पनि आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्