प्रहरीमाथि बियरको बोतल प्रहार, एक युवकलाई गोली हानेर नियन्त्रण
मकवानपुर, फागुन २८ – मकवानपुरमा प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवन तथा झगडा भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीमाथि बियरको बोतलसहित बन्चरो प्रहार भएको थियो।
आक्रमणका क्रममा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते भएका छन्। आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ का करिब १९ वर्षीय सनिस तितुङ घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न सञ्जय जिम्बा र अजय थिङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको बताइएको छ।

