नुवाकोटमा माध्यमिक शिक्षा परीक्षा तयारी सुरु, १९ केन्द्र तोकिए
नुवाकोट,फागुन २८ – विद्यार्थीको महत्त्वपूर्ण परीक्षाका रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा २०८२ का लागि नुवाकोटमा तयारी सुरु गरिएको छ। आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ।
कार्यालयका प्रमुख रामचन्द्र इटनीका अनुसार विभिन्न विद्यालयबाट चार हजार २२५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जसमध्ये तीन हजार १७२ जना नियमित, २२६ जना प्राविधिक र ८२७ जना श्रेणी सुधार परीक्षामा सहभागी हुनेछन्।
गत वर्ष २१ वटा केन्द्र तोकिएकोमा यस वर्ष दुई केन्द्र घटाएर १९ केन्द्र कायम गरिएको छ। प्रत्येक केन्द्रमा दुई सयभन्दा बढी विद्यार्थी सहभागी हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। गत वर्ष नुवाकोटमा तीन हजार ६७० परीक्षार्थी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

