पश्चिम एसियाको युद्ध प्रभाव: आजदेखि बजारमा आधा सिलिन्डर ग्यास
काठमाडौँ, फागुन २९ – पश्चिम एसियामा उत्पन्न युद्धको प्रभावका कारण नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको छ। पछिल्ला दिनमा उपभोक्ता ग्यास खरिद गर्न उद्योगमै लाम लाग्न बाध्य भएका छन्।
नेपाल आयल निगमले बजारमा देखिएको अभाव कम गर्न शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने तयारी गरेको जनाएको छ। यस अनुसार उपभोक्ताले करिब सात दशमलव एक किलोग्राम ग्यास पाउनेछन् र सोही अनुसार आधा मूल्य मात्र तिर्नुपर्नेछ।
निगमका अनुसार देशभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन्। भारतबाट माग अनुसार ग्यास आयात भइरहेको भए पनि उपभोक्ताले अनावश्यक भण्डारण गर्दा बजारमा अभाव देखिएको दाबी गरिएको छ।
यसैबीच उपभोक्ता अधिकारकर्मीहरूले भने आपूर्ति र वितरण व्यवस्थापन कमजोर भएकाले बजारमा ग्यास अभाव देखिएको बताएका छन्।

