नेपालमा मनसुनपूर्व वर्षा सुरु
काठमाडौँ, फागुन २९ – नेपालमा मनसुनपूर्व वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार रातिदेखि पूर्वी भू–भागबाट वर्षा सुरु भएको हो।
लामो समय वर्षा नहुँदा काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदूषण र तुवाँलो बढेको थियो। वर्षा सुरु भएसँगै प्रदूषण कम हुने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। पश्चिमी वायु र पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण वर्षा भएको मौसमविद्ले बताएका छन्।
बुधबार सङ्खुवासभाको खाँदबारीमा सबैभन्दा बढी ५७ मिलिमिटर वर्षा मापन गरिएको छ भने इलाममा ४८ मिलिमिटर वर्षा भएको छ। वर्षा प्रणाली सक्रिय रहेकाले केही दिन हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

