काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवराेध, फोहोर बोकेका गाडी बाटोमै राेकिए



काठमाडाैं,फागुन २९ । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।विगतमा गरिएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै आक्रोशित स्थानीयले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न रोक लगाएका हुन्।

सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौताहरू कागजमै सीमित भएको स्थानीयको आरोप छ। आफ्ना मागहरू सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने अडानसहित नुवाकोट र धादिङका प्रभावित बासिन्दाले फोहोर बोकेर आएका ट्रकहरूलाई बाटोबाटै फर्काइदिएका छन्।

उधारो सहमतिबाट पटक-पटक ठगिएका कारण यसपालि वारपारको निर्णय नभएसम्म अवरोध जारी रहने स्थानीय बासिन्दाहरूकाे भनाइ छ।

यसअघि गत कात्तिक १६ गते सहरी विकास मन्त्री कुलमान घिसिङले प्रतिबद्धता जनाएपछि केही समयका लागि खुलेको बञ्चरेडाँडा अहिले फेरि ठप्प भएको हो।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनबेँसी नगरपालिकाका विभिन्न वडाका बासिन्दाले सीमा क्षेत्र ढाँडेमा धर्ना दिएर सवारी साधन रोकेका छन्।

स्थानीयको यो आन्दोलनमा ककनी, बेलकोटगढी र धुनीबेँसीका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले समेत ऐक्यबद्धता जनाएका छन्। जसका कारण काठमाडौँको फोहोर व्यवस्थापनमा फेरि अन्योल थपिएको छ।

प्रतिक्रिया दिनुहोस्