पासपाेर्ट वितरण तथा आवेदन प्रक्रिया एकदेखि तीन सातासम्म बन्द हुन सक्ने



काठमाडाैं,फागुन २९ । एक देखि तीन सातासम्म राहदानी वितरण र आवेदन प्रक्रिया बन्द हुने भएको छ। राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन पुरानो प्रविधि विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने भएपछि उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो।

विभागका अनुसार, यो प्राविधिक परिवर्तनका कारण जिल्ला एवं इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने सेवा समेत एकदेखि तीन दिनसम्म प्रभावित हुन सक्नेछन्।

नयाँ प्रणाली जडान र कार्यान्वयनपछि त्यसलाई पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्ने अनुमान गरिएको छ। यस संक्रमणकालीन अवधिमा जिल्ला तथा विदेशबाट आवेदन दिने सेवाग्राहीहरूका लागि राहदानी तयार भई जारी हुन हालको तुलनामा बढी समय लाग्न सक्ने विभागले स्पष्ट पारेको छ। त्यसैले, तत्काल राहदानी आवश्यक पर्नेहरूलाई ढिलाइ हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।

विभागले नयाँ प्रणाली जडानको प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाउने तयारी गरिरहेको छ। आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई अन्तरिम अवस्था सुरु हुनुअगावै सम्बन्धित निकायबाट सेवा लिन विभागले विशेष अनुरोध गरेको छ।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउने निश्चित मिति र विस्तृत विवरण भने विभागले निकट भविष्यमा सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्