वर्षापछि काठमाडौँको वायु प्रदूषण घट्यो



काठमाडौँ,फागुन २९– केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घटेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म घटेर १४९ पुगेको तथ्याङ्कले देखाएको छ।

यसअघि काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा रहेकोमा अहिले बाह्रौँ स्थानमा झरेको छ। केही दिनदेखि मौसम धुम्मिँदा प्रदूषण बढेको भए पनि बिहीबार भएको वर्षापछि वायुको अवस्था सुधार भएको वातावरण विभागले जनाएको छ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्ने भएकाले प्रदूषण कम हुन्छ।वातावरणविद्हरूले प्रदूषण नियन्त्रणका लागि पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण र सवारीसाधनको धुवाँ परीक्षण कडाइका साथ लागू गर्न सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनमा सबैभन्दा धेरै १२६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ। लमजुङ, गोरखा, उदयपुर र झापालगायत क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्