इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, चालकदलका सबै छ जनाको मृत्यु



इराक,फागुन ३० – पश्चिमी इराकमा अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको मध्य कमान्डले उक्त दुर्घटनाको पुष्टि गरेको हो।

दुर्घटनामा शत्रुपक्ष वा आफ्नै सेनाको गोलाबारीको संलग्नता देखिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। उक्त विमान युद्धका क्रममा आकाशमै अन्य विमानमा इन्धन भर्ने काममा प्रयोग हुने प्रकारको सैन्य विमान थियो। सो घटनामा दुई वटा विमान संलग्न रहेको बताइएको छ भने अर्को विमान भने सुरक्षित रूपमा अवतरण भएको छ।

यसअघि इरान समर्थित इराकी समूहहरूले उक्त विमान आफूहरूले खसालेको दाबी गरेका थिए। तर अमेरिकी पक्षले भने हालसम्म त्यस्तो कुनै प्रमाण नभेटिएको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका क्रममा अमेरिकी सैन्य विमान दुर्घटनामा परेको यो अर्को घटना भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्