कम्बोडियाबाट उद्धार गरिएका २१ नेपाली स्वदेश फर्काइए



काठमाडौँ,फागुन ३०– रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्‍याएर अनलाइन ठगीमा लगाइएका २१ जना नेपाली नागरिकलाई उद्धार गरी शुक्रबार स्वदेश फर्काइएको छ।

थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन ठगी केन्द्र तथा जुवा घरमा गैरकानुनी काममा लगाइएको थियो।

दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा अलपत्र परेका नेपालीलाई उद्धार गरी गैरआवासीय नेपाली सङ्घ कम्बोडियाको सहजीकरणमा स्वदेश फर्काइएको जनाइएको छ।

कम्बोडियामा अझै पनि केही नेपाली नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा संलग्न गराइएको तथा भिसाबिना बसिरहेको जानकारी आएपछि थप उद्धारको प्रयास जारी रहेको दूतावासले जनाएको छ। कठिन परिस्थितिमा परेका नेपालीलाई दूतावास वा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्