आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने
काठमाडौँ,फागुन ३० – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने ती स्थानमा ११ केभी लाइन मर्मत तथा पोल जडान कार्य गर्न लागिएकाले विद्युत् कटौती गर्न लागिएको जनाइएको छ।
सूचनाअनुसार बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यसैगरी अपराह्न २ बजेदेखि ४ बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभन्दा अगाडि काम सकिएमा विद्युत् सेवा नियमित रूपमा सञ्चालन गरिने पनि प्राधिकरणले उल्लेख गरेको छ। साथै विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

