नुवाकोटमा भाइको कुटपिटबाट दाईको ज्यान गयो
नुवाकोट,फागुन ३० – नुवाकोटको किस्पाङ गाउँपालिका–३ गुन्साकीमा भाइको कुटपिटबाट दाईको मृत्यु भएको छ।
प्रहरीका अनुसार ५२ वर्षका कामी तामाङलाई उनका आफ्नै भाइ सेलबहादुर तामाङले फागुन २३ गते लठ्ठीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
गम्भीर घाइते तामाङलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो। थप उपचारका लागि काठमाडौ लगिएको तर उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका सेलबहादुर तामाङलाई प्रहरीले किस्पाङ गाउँपालिका–२ बाट नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

