सुख्खा पहिरोले सडक अवरुद्ध
धनकुटा,फागुन ३०– सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार–थुम्की खण्डअन्तर्गत लभडाँडामा शुक्रबार बिहानदेखि लगातार सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो।
उक्त स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो निरन्तर झरिरहेकाले सडक पूर्ण रूपमा बन्द भएको जनाइएको छ। सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिकाको माथिल्लो क्षेत्र तथा पाँचथरको पश्चिमी भागतर्फ जाने यातायात प्रभावित भएको छ।
भेडेटारबाट करिब दुई दशमलव पाँच किलोमिटर दूरीमा रहेको सो स्थानमा पहिरो हटाउने प्रयास भइरहेको भए पनि निरन्तर पहिरो झरिरहेकाले समस्या भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिएका छन्।
उनका अनुसार आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि पहिरो नरोकिएकाले काममा ढिलाइ भइरहेको छ। यात्रुहरूलाई डाँडाबजार–बुढीमोरङ–मुलघाट तथा राजारानी–केराबारी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

