पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु



मुस्ताङ,फागुन ३० – प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ। हुस्सु, हिमपात र जाडोयाममा यात्रुको चाप कम हुने भएकाले मङ्सिर १५ गतेदेखि तीन महिनाका लागि उडान स्थगित गरिएको थियो।

अनुकूल मौसम भएसँगै पर्यटकको चहलपहल बढेपछि पुनः उडान सुरु गरिएको जोमसोम विमानस्थल प्रमुख दीपक पोख्रेलले जानकारी दिए।उनका अनुसार शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक उडान गरेको छ।

शनिबार काठमाडौँबाट २९ जना पर्यटक जोमसोम पुगेका छन्, जसमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन्। त्यसैगरी पोखराबाट १५ जना पर्यटक पुगेका छन्, जसमा छ जना भारतीय पर्यटक रहेका छन्।

पर्यटकको सिजन सुरु भएकाले मौसम अनुकूल रहे नियमित उडान सञ्चालन हुने जनाइएको छ। मौसम प्रतिकूल हुँदा भने यात्रुहरू बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ जाने गरेका छन्।

मुस्ताङका प्रमुख धार्मिक स्थल मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका कारण अहिले पर्यटन गतिविधि बढ्न थालेको स्थानीय व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्