माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, तीन घाइते



रोल्पा,फागुन ३०– घर लिप्ने माटो खन्न गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी ४९ वर्षीया निर्मला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। घाइते तीनै जनाको निधार, ढाड र कम्मरमा चोट लागेको छ। उनीहरूको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोतिखन्ने डाँडामा सात जना माटो खन्न गएका थिए। गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा निर्मला बुढाथोकी पुरिएकी थिइन्। घटनाबारे दिउँसो करिब १२ः३० बजे प्रहरीलाई खबर पुगेको थियो।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट पुगेको प्रहरी टोलीले माटो पन्छाएर निकाल्दा बुढाथोकी मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको शव परीक्षणका लागि रेउघा अस्पताल पठाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्