दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण, १३ जनाको मृत्यु
लेबनान,फागुन ३०– दक्षिण लेबनानमा शुक्रबार राति इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा उद्धारकर्तासहित सर्वसाधारणको ज्यान गएको हो।
आक्रमणका क्रममा संयुक्त राष्ट्र सङ्घको अन्तरिम शान्ति मिसनअन्तर्गत रहेको नेपाली बटालियनको परिसर नजिक पनि गोला प्रहार भएको जनाइएको छ। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासका अनुसार उक्त घटनामा कुनै पनि नेपाली सैनिक घाइते भएका छैनन्।
इजरायली आक्रमणमा नाबातिएह क्षेत्रमा एक बालिकासहित छ जनाको मृत्यु भएको बताइएको छ। त्यस्तै सीमावर्ती सहर बिन्त जबेलमा तीन जनाको ज्यान गएको छ भने गाजिएह सहरमा भएको अर्को आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको जनाइएको छ।
लेबनानी सञ्चार माध्यमका अनुसार आक्रमणले उद्धार कार्य सञ्चालन गरिरहेका केन्द्रलाई समेत निशाना बनाएको थियो। यसैबीच हिजबुल्लाह समूहले इजरायली लक्ष्यहरूविरुद्ध प्रतिशोधस्वरूप रकेट प्रहार गरेको जनाएको छ। शुक्रबार राति नै इजरायलले बेरुतका दक्षिणी उपनगरहरूमा पनि हवाई आक्रमणको नयाँ लहर सुरु गरेको बताइएको छ।
यस घटनाले लेबनान–इजरायल सीमाक्षेत्रमा जारी द्वन्द्व थप चर्किने संकेत देखिएको छ।

