उत्तर कोरियाद्वारा जापानी समुद्रतर्फ १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल,फागुन ३० – उत्तर कोरियाले शनिबार जापानी समुद्रतर्फ करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।
दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयका अनुसार उत्तर कोरियाको सुनान क्षेत्रबाट दिउँसो करिब १ः२० बजे पूर्वी समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो। ती क्षेप्यास्त्र करिब ३५० किलोमिटर दूरीसम्म पुगेको बताइएको छ।
दक्षिण कोरियाली सेनाले कुनै पनि उक्साहटको जवाफ दिन आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ। जापानको रक्षा मन्त्रालयले पनि सामाजिक सञ्जालमार्फत क्षेप्यास्त्र प्रहारको पुष्टि गरेको छ।
यसैबीच दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच सम्भावित भेटवार्ताबारे चर्चा भइरहेका बेला यस्तो घटना भएको बताएका छन्।
अमेरिकाले लामो समयदेखि उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने प्रयास गर्दै आएको छ भने पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने प्रयास भइरहेको जनाइएको छ।

