मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
कपिलवस्तु,फागुन ३० । कपिलवस्तुमा छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति करिब पौने ११ बजेतिर यशोधरा गाउँपालिका अन्तर्गत वसन्तपुर–पुरनिहवा सडक खण्डमा सेमराहवा चोकदेखि वसन्तपुरतर्फ जाँदै गरेको लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा यशोधरा गाउँपालिका–१ तिर्खिर्खीका ४२ वर्षीय रमकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो। घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी तौलिहवा–बहादुरगञ्ज सडक खण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका–३ गनवरियामा युपी ४७ एएल ४८२२ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालक कृष्णनगर नगरपालिका–१ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा राति साढे ९ बजेतिर मृत्यु भएको हो। उक्त दुर्घटनामा गम्भीर घाइते भएकी २८ वर्षीया पुष्पा चौधरीको मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै तौलिहवा–गोरुसिङ्गे सडक खण्डमा तौलिहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु ९७ प ०९४६ नम्बरको मोटरसाइकललाई हरिणले झुक्याउँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका यशोधरा गाउँपालिका–४ का ६५ वर्षीय गोमतीप्रसाद यादवको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय गिरीजेश कुमार पाण्डेय घाइते भएका छन्। उनको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

