पाथीभरा मन्दिरमा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन



ताप्लेजुङ,फागुन ३० — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। फागुन महिनामा भक्तजनहरूले मन्दिरमा चढाएको भेटी रकम ३१ लाख १० हजार रुपैयाँ पुगेको हो।

पाथीभरा क्षेत्र विकास समिति ले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ का अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीहरूले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने व्यवस्था गरिएको छ।

सङ्कलित भेटी रकम पोकामा लाहाछाप लगाएर मन्दिरको फेदीमा ल्याइन्छ। फेदीमा करिब एक सातासम्म सङ्कलन गरिएको रकम पछि फुङलिङस्थित समितिको कार्यालयमा ल्याई दैनिक रूपमा गणना गरी बैंकमा जम्मा गरिने गरिएको छ।

समितिले कार्यालय समयमा प्रहरी तथा सीसीटीभीको निगरानीमा भेटी गणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्