बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
बग्दाद,फागुन ३०— बग्दादस्थित संयुक्त राज्य अमेरिका दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको हो। विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट कालो धुवाँ उठेको त्यहाँस्थित सञ्चारकर्मीहरूले बताएका छन्। घटनाबारे दूतावासले भने हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन।
यसअघि इरान समर्थित सशस्त्र समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी गरिएका दुई वटा आक्रमणमा एक कमान्डरसहित तीन सदस्यको मृत्यु भएको थियो। त्यसको केही समयपछि दूतावासमाथि आक्रमण भएको बताइएको छ।
लामो समयदेखि संयुक्त राज्य अमेरिका र इरानबीचको छद्म द्वन्द्वको मैदान मानिने इराकमा पछिल्लो समय तनाव थप बढेको छ। फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।
सुरक्षा स्रोतहरूका अनुसार बग्दादमा भएको पहिलो आक्रमण इरान समर्थित समूहहरूको उपस्थिति रहेको अरासत क्षेत्रको एक घरमा गरिएको थियो। त्यसको करिब दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीलाई लक्षित गरी अर्को आक्रमण भएको थियो।
इरान समर्थक स्रोतका अनुसार उक्त आक्रमणमा कमाण्डर अबु अली अल–अमिरीसहित तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ।उनीहरूको अन्त्येष्टि जुलुस बग्दादमा निकालिएको थियो। युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि यो दोस्रो पटक आक्रमण भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

