मनकामना दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते
गोरखा,चैत १ — मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ कान्टार, गोरखामा बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार माइक्रोबसमा मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार थिए। प्रारम्भिक जानकारीअनुसार माइक्रोबसमा १४ जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका ७ जनालाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरू सबै भारतीय नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि प्रहरी टोली स्थानीयवासीको सहयोगमा उद्धार कार्यमा खटिएको थियोे । मृतकको पहिचान गर्ने तथा शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

