पोखरामा ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना



कास्की,चैत १— जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

शनिबार गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेबरमा रहेको भण्डारी ट्रेडर्सबाट ४८ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको प्रशासनले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। अनुगमनका क्रममा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरणसमेत भेटिएको उनले जानकारी दिए।

अनुगमन टोलीले पोखराका पाँच वटा ग्यास डिलरको निरीक्षण गरेको जनाएको छ। अनुगमनअघि रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले ग्यास डिलरहरूलाई प्राप्त ग्यासको परिमाण र दैनिक वितरणको अभिलेख राख्न तथा अनुचित भण्डारण नगर्न निर्देशन दिएको थियो।

बैठकमा ग्यास उद्योगी तथा बिक्रेताहरूले पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको जानकारी दिएका भए पनि हाल पोखरा बजारमा ग्यासको अभाव देखिएको छ।

प्रतिक्रिया दिनुहोस्