समानुपातिक सांसदले चैत ५ भित्र प्रमाणपत्र पाउने



काठमाडौँ,चैत १ — प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूले चैत ५ गतेभित्र निर्वाचितको प्रमाणपत्र पाउने भएका छन्। निर्वाचन आयोग नेपालका अनुसार छ वटा राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्नेछ।

आयोगका अनुसार कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभाका सबै २७५ सदस्य निर्वाचित भइसकेका हुनेछन्। प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतबाट परिणाम बदरको आदेश नआए निर्वाचन परिणामले पूर्णता पाउने आयोगले जनाएको छ।

अन्तिम परिणाम चैत ५ गते राष्ट्रपतिसमक्ष पेस गरिनेछ। त्यसपछि परिणाम सङ्घीय संसद्मा पठाइने र संसद् सचिवालयले ज्येष्ठ सदस्य चयन गरी शपथको प्रक्रिया अघि बढाउनेछ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६ (१) अनुसार सरकार गठन प्रक्रिया सुरु हुने बताइएको छ। आयोगले चैत ५ भित्र अन्तिम प्रतिवेदन बुझाएमा चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रिया टुंगिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्