इरानको खार्ग टापुमा अमेरिकी आक्रमण, मध्यपूर्वमा संकट गहिरिँदै



काठमाडौँ,चैत १— संयुक्त राज्य अमेरिकाले इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ। इरानले हर्मुज जलडमरूमध्यमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले उक्त टापुमा आक्रमण गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार खार्ग टापुमा रहेका इरानसँग सम्बन्धित सैन्य संरचनामाथि आक्रमण गरी नष्ट गरिएको छ।आवश्यकता परे इरानको तेल पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी उनले दिएका छन्।

अमेरिकाले क्षेत्रीय सैन्य उपस्थिति बढाउँदै युद्धपोत, मरिन सैनिक र उभयचर आक्रमण जहाजहरू परिचालन गरेको जनाएको छ। यसअघि पनि अमेरिकी नौसेनाले अरब सागर क्षेत्रमा ठूलो सैन्य बल तैनाथ गरिसकेको छ।

अमेरिकी रक्षा स्रोतका अनुसार युद्ध सुरु भएयता इरानका १५ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ। यस अभियानमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न रहेको जनाइएको छ।

यसबीच लेबनानमा मानवीय संकट गहिरिँदै गएको छ। इजरायलले इरान समर्थित हिजबुल्लाहको प्रभाव क्षेत्रमा गरेको आक्रमणमा करिब आठ सय जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये एक सयभन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मी रहेका छन् भने करिब आठ लाख ५० हजार मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघले लेबनानमा प्रभावित नागरिकका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन र राहत सामग्री सुरक्षित रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्