देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौँ,चैत १— हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्