मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोरङ,चैत १ — विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतीय नम्बर प्लेट (विआर ३८ एपी ४२८२) को मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोकेको ईभी लोडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१८ का ३० वर्षीय अजय मण्डल गम्भीर घाइते भएका थिए। दाहिने हात र खुट्टा भाँचिएको अवस्थामा प्रहरी टोलीले उनलाई उद्धार गरी न्युरो अस्पतालमा उपचारका लागि लगेको थियो।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि नोबेल अस्पतालमा पठाइए पनि उपचारकै क्रममा आइतबार बिहान चिकित्सकले मण्डललाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न कवाडी बोकेको ईभी लोडर र चालक विराटनगर–१८ का १९ वर्षीय मोहम्मद मोसिमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

