१०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा
महोत्तरी,चैत १ — जिल्ला प्रहरी कार्यालय महोत्तरीले रामगोपालपुर क्षेत्रमा करिब १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गए राति करिब साढे ११ बजेतिर विशेष सूचनाको आधारमा रामगोपालपुर नगरपालिका–८ हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त गाँजा बरामद गरिएको हो।
खोजतलासका क्रममा महोत्तरीको पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको भेटिएको प्रहरीले जनाएको छ।
लागु औषध नियन्त्रण ब्युरो कार्यालय बर्दीबासका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त गस्ती टोलीले कार जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २० पोका गाँजा फेला परेको प्रहरी निरीक्षक विश्वमभरनाथ साहले जानकारी दिनुभयो।
बरामद गाँजा र कार प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना स्थल बर्दीबासबाट करिब ३० किलोमिटर दक्षिणतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

