रास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम सिफारिस



काठमाडौँ,चैत १— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टीले सिफारिस गरिएका नामहरूको सूची आइतबार निर्वाचन आयोगमा बुझाउने जनाएको छ। बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सिफारिस सूचीमा १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी र पाँच जना थारू समुदायबाट प्रतिनिधित्व गराइएको जानकारी दिनुभयो।

समानुपातिकतर्फ सिफारिस गरिएका ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन्। पार्टीले आयोगमा नामावली बुझाएपछि आयोगले कानुनी प्रक्रिया अनुसार रुजु गरी अन्तिम सूची सार्वजनिक गर्ने बताइएको छ।

पार्टीले बुझाएको नामावली भने तत्काल सार्वजनिक नगर्ने निर्णय गरिएको प्रवक्ता झाले बताउनुभयो। उहाँका अनुसार आयोगबाट स्वीकृति नआएसम्म ती नाम प्रस्तावित मात्रै रहनेछन्।

बैठकले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सरकार, सुरक्षा निकाय र निर्वाचनमा खटिएका कर्मचारीलाई धन्यवाद दिने निर्णय पनि गरेको छ। साथै अस्वस्थ रहनुभएका पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्