रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट सोमबार सुनुवाइ हुने
काठमाडौँ,चैत १— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राख्दै सोमबार सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राख्दै सोमबारका लागि सार्ने निर्णय गरेको हो।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो। उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो।

