पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यास सिलिन्डर दुई हजार १२६ रुपैयाँ



काठमाडौँ, चैत २ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१६ रुपैयाँसम्म वृद्धि भएको निगमले जनाएको छ। तर नेपालमा केही रकम स्थिरीकरण कोषबाट व्यहोरेर आंशिक मात्र मूल्य बढाइएको हो।

मूल्य वृद्धि भएसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्