औषधीबारे जानकारी दिन ‘एपोन केयर्स’ डिजिटल प्लेटफर्म सञ्चालन



काठमाडौँ,चैत २— औषधीसम्बन्धी प्रश्न तथा जिज्ञासा समाधान गर्न ‘एपोन केयर्स’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको छ।

नेपाल औषधी उत्पादक सङ्घले सञ्चालनमा ल्याएको उक्त प्लेटफर्ममार्फत सर्वसाधारण तथा बिरामीले औषधीको सही प्रयोग, मात्रा, समय तथा सुरक्षित भण्डारणबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। साथै चिकित्सकको परामर्शबिना औषधी सेवन गर्दा हुन सक्ने जोखिमबारे पनि जानकारी दिइने बताइएको छ।

सङ्घका महासचिव सन्तोष बरालले औषधी प्रयोगबारे सही जानकारी र सचेतना फैलाउने उद्देश्यले ‘एपोन केयर्स’ सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार प्लेटफर्मले नेपालमा उत्पादन हुने औषधीको गुणस्तर र उत्पादन प्रक्रियाबारे पनि जानकारी दिनेछ।

सङ्घका मिडिया संयोजक शैलेस वैद्यले नेपालमा औषधीको दुरुपयोग रोक्न तथा स्वदेशी औषधीबारे रहेको भ्रम हटाउन उक्त प्लेटफर्म उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्