त्रिविमा संस्कृत विषयमा विद्यावारिधि अध्ययन सुरु हुने



काठमाडौँ,चैत २ — त्रिभुवन विश्वविद्यालयमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन सुरु हुने भएको छ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद् बैठकले मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सहायक डिन डा बामदेव अधिकारीले जानकारी दिनुभयो।

बैठकले मानविकी सङ्कायका सबै परीक्षाका नतिजा एक सय दिनभित्र प्रकाशित गर्ने निर्णयसमेत गरेको छ। साथै आमसञ्चार तथा पत्रकारिता विषयमा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि सहायक डिन अधिकारीले बताउनुभयो।

त्यसैगरी बर्दिवासस्थित नवक्षितिज कलेजको सम्बन्धन खारेज गर्ने, रत्नराज्यलक्ष्मी क्याम्पसलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पसलाई राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तह अध्यापन अनुमति दिने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्