विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्ममा बर्डफ्लु देखियो



काठमाडौँ, चैत २ — नेपालका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लुको सङ्क्रमण देखिएको छ।

पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्मका कुखुरामा उक्त सङ्क्रमण पुष्टि भएको जनाएको हो।

डा. मनोजकुमार शाहीका अनुसार यो बर्डफ्लुको एक प्रकार हो, जसमा कुखुरा मर्ने दर कम हुने र मानिसमा सर्ने जोखिम नहुने बताइएको छ।विभागका महानिर्देशक डा. उमेश दाहालले हालसम्म करिब ८०–९० फार्ममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो।

विभागले रोग फैलिन सक्ने जोखिम भएकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सङ्क्रमण फैलिन नदिन फार्ममा अनावश्यक सवारी र आगन्तुक प्रवेश रोक्ने, उपकरण र सवारी साधन निसङ्क्रमण गर्ने तथा मरेका कुखुरालाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सुझाव दिइएको छ।

एकै पटक धेरै कुखुरा बिरामी परेमा वा मरेमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी दिन विभागले किसानलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्