तनहुँमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते



तनहुँ,चैत २ — भिमाद नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बुचाखानीबाट निर्माण सामग्री लिएर ठकुरीथर जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका शिवराज नगरपालिका–१ कपिलवस्तुका ४५ वर्षीय लङ्डु थारुको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। घाइतेलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो।

दुर्घटनामा चालक अनिल कुमालसहित नारायण पुन र दुर्गाबहादुर पुन घाइते भएका छन्। घाइतेमध्ये अनिल र नारायणलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुर्गाबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको छ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्