देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,चैत २ — हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

त्यस्तै गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनीका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने बताइएको छ।

सोमबार राति पनि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्