पेट्रोलियम मूल्यवृद्धिपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
काठमाडौँ,चैत २ — पेट्रोलियम पदार्थको मूल्य बढेपछि सवारीसाधनको भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै भाडा समायोजन गर्न सरकारसँग आग्रह गरेको हो। महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
उहाँले पेट्रोलियम पदार्थको मूल्य एकाएक बढ्दा देशभर यातायात सेवा सञ्चालन गर्ने व्यवसायी र यात्रु दुवैमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो। साथै निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गरी वैज्ञानिक तरिकाले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
सार्वजनिक सवारीसाधन डिजेल र पेट्रोल प्रयोग गरी सञ्चालन हुने भएकाले इन्धनको मूल्य घटबढ हुँदा यातायात सञ्चालनमा प्रत्यक्ष प्रभाव पर्ने महासङ्घले जनाएको छ।
यातायात व्यवस्था विभागले कानुनअनुसार सङ्घीय रुटमा पेट्रोलियम पदार्थको मूल्य परिवर्तन हुँदा स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भन्दै सो व्यवस्था लागू गर्न पनि महासङ्घले आग्रह गरेको छ।
महासङ्घले सङ्घीय रुटको भाडा यातायात व्यवस्था विभागबाट तथा प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्न सरकारसँग माग गरेको छ।

