दुवै मिर्गौला फेल भएपछि जीवनसँग संघर्ष : नुवाकोट छहरेकी प्रमिलाका लागि सहयोगको अपिल



नुवाकोट, चैत २ — केही वर्षअघिसम्म भविष्यका थुप्रै सपना बोकेर जीवन अघि बढाइरहेकी थिइन् ३१ वर्षीया प्रमिला मल्ल। नुवाकोटको छहरे बजारमा सानो परिवारसँग सामान्य जीवन बिताइरहेकी प्रमिलाको संसार अहिले अचानक बदलिएको छ। दुवै मिर्गौला फेल भएपछि उनी अहिले जीवन बचाउन संघर्षरत छन्।

२०७२ सालमा पढ्दापढ्दै उनले बालकृष्ण तामाङसँग प्रेम विवाह गरेकी थिइन्। सानो परिवार, सानो सपना र सामान्य आम्दानीमै पनि उनीहरू खुसी थिए। श्रीमान् चालक पेशामा कार्यरत छन्। जेनतेन कमाइले घर खर्च चलिरहेको थियो।

तर केही महिनाअघि प्रमिलाको स्वास्थ्य बिग्रिन थालेपछि जाँच गर्दा चिकित्सकले दुवै मिर्गौला काम नगर्ने अवस्था पुगेको बताए। त्यो खबरले प्रमिलाको परिवारलाई स्तब्ध बनायो।

आज प्रमिलाको जीवन अस्पताल, औषधि र पीडासँग जोडिएको छ। उनी हाल मार्क किड्नी सेन्टर अस्पतालमा उपचार गराइरहेकी छन्। विगत तीन महिनादेखि नियमित डायलसिस गराइरहेकी प्रमिलाको उपचारमा हरेक हप्ता करिब २० हजार रुपैयाँ खर्च हुने गरेको छ।आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचारका लागि ऋण गरेर खर्च जुटाइरहेको छ।

सबैभन्दा पीडादायी कुरा के भने, आमाको उपचारका कारण प्रमिलाले आफ्नै सन्तानलाई आफूसँग राख्न सकेकी छैनन्। सानो बच्चालाई दिदीबहिनीको सहारामा अन्यत्र राख्नुपरेको छ। स्वास्थ्यका कारण आफूले चाहेको खानेकुरा पनि खान नपाउने अवस्था आएको छ। उमेरले जवान भए पनि जीवनको पीडा भने निकै ठूलो बनेको छ।

अहिले प्रमिला श्रीमान्को सहारामा हरेक हप्ता दुई पटक काठमाडौं–नुवाकोट ओहोरदोहोर गर्दै डायलसिस गराइरहेकी छन्। अस्पतालको बेड, लामो यात्रा र आर्थिक अभावले उनको जीवन अत्यन्तै कष्टकर बनेको छ। चिकित्सकका अनुसार प्रमिलाको जीवन बचाउन मिर्गौला प्रत्यारोपण गर्नु आवश्यक छ। तर त्यसका लागि करिब २५ देखि ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

यसैबीच छहरे बजारका युवा व्यवसायी प्रकाश अधिकारीको पहलमा प्रमिलाको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ। स्थानीय युवाहरूले पनि मानवीय भावनाका साथ सहयोग जुटाउने प्रयास गरिरहेका छन्। “एक युवतीको जीवन बचाउन सबैको सहयोग आवश्यक छ,” अधिकारीले भन्नुभयो, “यो पुण्य कार्यमा सक्दो सहयोग गरिदिन सबैलाई आग्रह गर्दछौँ।”

प्रमिलालाई सहयोग गर्न चाहनेले सानिमा बैंकको खाता नम्बर ०४१०११०९०००३७८६ मा आर्थिक सहयोग गर्न सक्नेछन्। साथै उपलब्ध क्यूआर कोडमार्फत डिजिटल माध्यमबाट पनि सहयोग गर्न सकिने बताइएको छ। आज प्रमिलाको परिवारको एउटै आशा छ— देशविदेशमा रहेका सहयोगी मनहरूले हात बढाइदिए भने सायद एक युवतीको जीवन फेरि उज्यालो हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्