नुवाकोटको पूर्वी भेग अन्धकारमा



नुवाकोट, चैत २ — सोमबार साँझ परेको पानीसँगैको हावाहुरीका कारण नुवाकोट जिल्लाको पूर्वी भेग अन्धकारमा डुबेको छ।

हावाहुरीका कारण जिल्लाका पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका र ककनी गाउँपालिकाका अधिकांश भूभागमा विद्युत सेवा अवरुद्ध भएको हो।

हावाहुरीले विद्युत लाइनमा समस्या आएपछि छहरे आसपासका क्षेत्रमा पनि विद्युत आपूर्ति ठप्प भएको छ।

छहरे फ्युज शाखाका कर्मचारी लालबहादुर तामाङका अनुसार हावाहुरीका कारण विद्युत संरचनामा क्षति पुगेकाले तत्काल विद्युत सेवा सञ्चालन गर्न नसकिएको हो।

उनका अनुसार मंगलबार हावाहुरीबाट भएको क्षतिको यकिन गरेपछि मात्र विद्युत सेवा पुनः सञ्चालन गर्न सकिनेछ।

विद्युत सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। हावाहुरीले विद्युत लाइनका खम्बा तथा तारमा क्षति पुर्‍याएको अनुमान गरिएको छ।

सम्बन्धित प्राविधिक टोलीले क्षतिको विवरण संकलन गरी विद्युत सेवा सुचारु गर्ने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्