गोदाममा लुकाएर राखिएका ६ हजारभन्दा बढी ग्यास सिलिन्डर फेला
काठमाडौं, चैत २ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ठूलो संख्यामा ग्यास सिलिन्डर भण्डारण गरेको अवस्थामा फेला पारेपछि उद्योगलाई जरिवाना गरेको छ।विभागको अनुगमन टोलीले श्रीराम ग्यास उद्योगको ललितपुरको हरिसिद्धिस्थित गोदाममा भण्डारण गरेर राखिएका ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको हो।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले १४.२ किलो तौल भरिएका सिलिन्डर गोदाममा राखिएको अवस्थामा भेटिएपछि विभागले उक्त उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।विभागका अनुसार फेला परेका ग्यास सिलिन्डरहरू नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
हाल ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणाली सहज बनाउन विभागले उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।
यता पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति प्रभावित हुन सक्ने आशङ्काले उपभोक्ताले बढी मात्रामा ग्यास भण्डारण गर्दा बजारमा वितरणमा समस्या देखिएको नेपाल आयल निगमले जनाएको छ।

