अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ठूलो मानवीय क्षतिको दाबी
काठमाडौं, चैत ३ — पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुलसहित विभिन्न क्षेत्रलाई निशाना बनाएका छन्।
समाचार संस्था CNNलाई उद्धृत गर्दै स्थानीय स्रोतहरूले आक्रमणमा परी करिब ४ सय जनाको मृत्यु भएको र झण्डै २५० जना घाइते भएको बताएका छन्।
रिपोर्टअनुसार दारुलअमान, अरजान कीमत, खैराखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीका आवाजहरू सुनिएको बताइएको छ।
यस घटनापछि तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन्। उनले उक्त आक्रमणलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेका छन् र पाकिस्तानले अफगानिस्तानको हवाई सीमा उल्लङ्घन गरेको दाबी गरेका छन्।
यता शहबाज शरीफ नेतृत्वको पाकिस्तान सरकारका प्रवक्ता मोशर्रफ जैदीले भने अस्पताललाई निशाना बनाइएको आरोप अस्वीकार गरेका छन्।
पाकिस्तानको सूचना मन्त्रालयका अनुसार काबुल र नंगहार क्षेत्रमा रहेका सैन्य ठेगाना, प्राविधिक उपकरण भण्डार तथा हतियार भण्डारण स्थललाई लक्षित गरी आक्रमण गरिएको हो। ती स्थानबाट पाकिस्तानी नागरिकविरुद्ध आक्रमण भइरहेकाले जवाफी कारबाही गरिएको मन्त्रालयले जनाएको छ।

