पश्चिमी प्रणालीको प्रभाव: देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, चैत ३ — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा देशका विभिन्न भागमा मौसम बदली भएको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेश र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ।आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, यी प्रदेशका केही पहाडी भूभागमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति भने गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ ।

