ढुङ्गा प्रहारबाट एकको मृत्यु, एक पक्राउ, एक फरार
बाजुरा, चैत ३ — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ।
स्थानीय अन्दाजी ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। सोमबार सोही ठाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले कुटपिटका क्रममा ढुङ्गा प्रहार गर्दा सर्वाशको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा संलग्न धनबहादुर महतरालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार फरार अभियुक्तको खोजी कार्य तीव्र रूपमा भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धानसमेत अघि बढाएको जनाएको छ।

