पोर्चुगलमा नेपाली कानुनी झमेलामा, ‘फेक पुलिस रिपोर्ट’ विवादले रेसिडेन्सी प्रक्रिया प्रभावित
काठमाडौं, चैत ३ — पोर्चुगलमा बसोबास गर्दै आएका नेपालीहरू गम्भीर कानुनी समस्यामा परेका छन्। हाल करिब २,४५० नेपाली यस समस्याबाट प्रभावित भएको बताइएको छ।
नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा पोर्चुगल प्रशासनले धेरै नेपालीहरूको रेसिडेन्सी प्रक्रिया रोकेको छ। यससँगै केहीलाई देश छाड्न निर्देशनसमेत दिइएको जनाइएको छ।
त्यहाँ रहेका नेपालीहरूले समस्या समाधानका लागि पटक–पटक पोर्चुगलस्थित नेपाली दूतावासमा गुहार मागे पनि ठोस समाधान नआएको गुनासो गरेका छन्। दूतावासले नेपाल सरकार वा परराष्ट्र मन्त्रालयलाई स्पष्ट जानकारी नगराएको आरोपसमेत उनीहरूले लगाएका छन्।
‘फेक पुलिस रिपोर्ट’ विवाद नेपाल प्रहरीले जारी गर्ने कागजातमा नक्कली स्टाम्प प्रयोग भएको विषयसँग सम्बन्धित रहेको बताइएको छ। यसमा नेपालभित्रकै केही बिचौलिया तथा सम्भावित उच्चस्तरीय संलग्नताको आशंका पनि उठेको छ।
यस घटनाका कारण निर्दोष नेपालीहरू कानुनी समस्यामा पर्नु अत्यन्त अन्यायपूर्ण भएको भन्दै त्यहाँ बसोबास गर्ने नेपालीहरूले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

