हुरीबतासले सिन्धुलीमा व्यापक क्षति, विद्युत् सेवा अवरुद्ध
सिन्धुलीमाढी, चैत ३ — सिन्धुली जिल्लाका विभिन्न स्थानमा सोमबार साँझ आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ।
एक्कासि तीव्र गतिमा आएको हुरीबतासले विद्यालय भवनका छाना उडाउनुका साथै एक दर्जनभन्दा बढी घरगोठमा क्षति पुर्याएको छ। साथै किसानका बालीनाली, तरकारी तथा फलफूलसमेत नष्ट भएका छन्।
हुरीबतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको स्थानीयले बताएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन र मरिण गाउँपालिकालगायत अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार प्राथमिक विद्यालय जुकेपानीको भवनको छाना पूर्णरूपमा उडेको छ भने जुकेपानी, सारौटार, च्याकुटार, धनसार र बिर्ता क्षेत्रमा हालसम्म नौ वटा घरमा क्षति पुगेको छ। त्यस्तै गोलन्जोर–२ को रजायमा पाँच वटा घरमा छाना उडाएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो।
तीनपाटन गाउँपालिका–९ सालुकेमा हुरीबतासपछि एक घरगोठमा आगलागी हुँदा पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो। गाउँपालिका भवन तथा वडा कार्यालयका झ्यालका सिसासमेत फुटेका छन्।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ। प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
विद्युत् संरचनामा क्षति पुगेपछि प्राधिकरणका प्राविधिक टोली रातिदेखि नै मर्मत कार्यमा खटिएका छन्। तार चुडिनु, पोल ढल्नु र ट्रान्सफर्मरमा क्षति पुगेका कारण सेवा अवरुद्ध भएको जनाइएको छ।प्राधिकरणले चाँडै सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको छ।
यसैबीच सिन्धुली क्षेत्र नं. २ का निवर्तमान सांसद लेखनाथ दाहालले सामाजिक सञ्जालमार्फत व्यापक क्षति भएको उल्लेख गर्दै उद्धार, राहत र पुनर्निर्माण कार्य तत्काल थाल्न सरकारसँग माग गर्नुभएको छ।

