नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक १३.५१ अङ्कले बढ्यो



काठमाडौं, चैत ३ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ बिन्दुमा पुगेको छ।

नेप्सेका अनुसार ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ।आजको कारोबारमा बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहका उपसूचक बढेका छन्।जलविद्युत् समूह सबैभन्दा बढी १ दशमलव ५९ प्रतिशतले उकालो लागेको छ।

यता वित्त, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूहका उपसूचक भने घटेका छन्। कारोबारका क्रममा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गुमाउनेमा एनआइसी एसिया ग्रोथ फन्ड–२ रहेको छ, जसको मूल्य ४ दशमलव ७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिदी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसैगरी कारोबार भएका शेयर सङ्ख्याका आधारमा शिवश्री हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ, जसको १९ लाख २३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्