सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब नाघ्यो, आठ महिनामै दुई खर्बभन्दा बढी थपियो
काठमाडौं, चैत ३ — चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातदेखि फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण फागुन मसान्तसम्ममा बढेर २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ। यस अवधिमा मात्रै २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ बराबरको ऋण थपिएको हो।
कार्यालयका अनुसार हालसम्म सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको छ। कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ।
यसैगरी, हालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७ दशमलव १३ प्रतिशत पुगेको छ। सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ उठाइसकेको छ, जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिशत हो।
आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्यमध्ये हालसम्म २ खर्ब ४३ अर्ब ६६ करोड (६७ दशमलव ३१ प्रतिशत) संकलन भइसकेको छ। तर बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख उठाउने लक्ष्य रहे पनि अहिलेसम्म ५६ अर्ब ८० करोड (२४ दशमलव ३१ प्रतिशत) मात्र उठ्न सकेको छ।
यस्तै, चालु वर्षमा सरकारी ऋणको साँवा–ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ५८ दशमलव ९४ प्रतिशत हो।
कार्यालयका अनुसार माघ मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको आधारमा ऋण सेवा खर्च ३ दशमलव ९७ प्रतिशत रहेको छ।

