महिलाको क्यान्सर परीक्षणका लागि महानगर–वीर अस्पतालबीच सम्झौता



काठमाडौं, चैत ३ — महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।

सोमबार महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको समेत उपस्थिति रहेको थियो।

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेको उल्लेख गर्दै नियमित परीक्षण नै बच्ने प्रमुख उपाय भएको बताउनुभयो। अस्पतालका निर्देशक डा. शर्माले पनि समयमै स्क्रिनिङ नगर्दा अवस्था जटिल बन्ने भएकाले लक्षण नदेखिए पनि परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो।

महानगरका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ। गत वर्ष परीक्षणबाट छुटेका तथा पोजेटिभ देखिएका महिलालाई पनि पुनः परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था गरिने जनाइएको छ।

क्यान्सर परीक्षण कार्यक्रम चैत १६ गतेदेखि सुरु हुने र दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गरिने स्वास्थ्य विभागले जनाएको छ।नेपालमा महिलामा सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख मानिन्छ।

प्रतिक्रिया दिनुहोस्