इन्धन अभावका कारण श्रीलङ्कामा बुधबार सार्वजनिक बिदा घोषणा



कोलम्बो, चैत ३ — श्रीलङ्का सरकारले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ।

मंगलबार जारी सूचनाअनुसार मार्च १८ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था गरिएको छ।

आवश्यक सेवाका आयुक्त प्रभात चन्द्रकीर्थीका अनुसार यो निर्णयअन्तर्गत सबै सरकारी विद्यालय, विश्वविद्यालय तथा अदालतहरू बुधबार बन्द रहने छन्। तर स्वास्थ्य सेवा, बन्दरगाह, खानेपानी आपूर्ति र भन्सारजस्ता अत्यावश्यक सेवामा भने यो व्यवस्था लागू हुने छैन।

सरकारी निकायका प्रमुखहरूले कामको आवश्यकता अनुसार बाँकी चार कार्यदिनभित्र कर्मचारीलाई काममा बोलाउन सक्ने अधिकार राख्ने पनि जनाइएको छ।

इन्धन संकटलाई मध्यनजर गर्दै सरकारले अर्को सूचना नभएसम्म सबै सरकारी कार्यक्रमहरू स्थगित गरेको छ। साथै निजी क्षेत्रलाई पनि सम्भव भएसम्म यस्तै व्यवस्था अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्