एकै जिल्लामा विभिन्न घटनामा एक महिनामै ११ जनाको मृत्यु, ५३ घाइते
सप्तरी, चैत ३ — जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै एक महिनाभित्रै ११ जनाको मृत्यु भएको जानकारी दिएको छ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक तथ्याङ्कअनुसार फागुन महिनामा विभिन्न घटनामा ११ जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सो अवधिमा भएका १७ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दुर्घटनामा २० वटा सवारीसाधन संलग्न रहेका छन्। ट्राफिक नियमको अवज्ञा, ओभर स्पीड र पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण दुर्घटना बढेको प्रहरीको विश्लेषण छ।
ट्राफिक नियम उल्लङ्घन गर्ने २७० सवारीलाई कारबाही गर्दा दुई लाख ५६ हजार रुपैयाँ जरिवाना सङ्कलन गरिएको प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिनुभयो।
यसै अवधिमा करेन्ट लागेर एक जना, पानीमा डुबेर तीन जना र अन्य घटनामा तीन जनाको मृत्यु भएको छ। घाइतेतर्फ करेन्ट लागेर चार जना, जनावरको आक्रमणबाट दुई जना र अन्य घटनामा २६ जना घाइते भएका छन्।
त्यस्तै एक महिनाको अवधिमा जिल्लामा सात जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ। प्रहरीका अनुसार विष सेवन गरेर दुई पुरुष तथा झुन्डिएर एक पुरुष र चार महिलाले ज्यान गुमाएका छन्।

