शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्री कार्कीद्वारा एमालेलाई धन्यवाद
काठमाडौं,चैत ४ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेकपा एमालेलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गर्नुभएको थियो। उक्त भेटमा एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी हुनुभएको थियो।भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले कठिन परिस्थितिमा निर्वाचनमार्फत समाधान खोजिएको उल्लेख गर्दै राष्ट्रप्रतिको जिम्मेवारीका साथ एमालेले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई सुझाव दिनुभयो। राजनीतिमा निरन्तरता आवश्यक हुने भन्दै देश र जनताका मुद्दामा केन्द्रित रहन आग्रह गर्नुभयो।
जवाफमा एमाले नेताहरूले पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन्। उनीहरूले यसपटकको निर्वाचनमा प्रशासन निष्पक्ष रहेको र चुनावी वातावरण विगतको तुलनामा बढी शान्तिपूर्ण तथा कम खर्चिलो भएको अनुभव सुनाएका थिए।
यसअघि प्रधानमन्त्री कार्कीले पितृशोकमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासमै पुगेर समवेदना प्रकट गर्नुभएको थियो।

